जन्माष्टमीमा १५ विद्यालयका राधा–कृष्ण बनेका विद्यार्थीलाई शैक्षिक सामग्री

कोल्हवी न्यूज
२०८३ भाद्र १८, बिहीबार १५:४८ गते

वीरगन्ज । श्रीकृष्ण जन्माष्टमीको अवसरमा श्री गहवा माई तीर्थ क्षेत्र विकास समिति (रथयात्रा समिति), वीरगन्जले १५ वटा विद्यालयका राधा–कृष्णको भेषमा सहभागी बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ।

समितिले जन्माष्टमीको अवसरमा विभिन्न विद्यालयमा पुगेर राधा तथा कृष्णको रूप धारण गरेका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको हो। धार्मिक तथा सांस्कृतिक पर्वमा बालबालिकाको सिर्जनात्मक सहभागिता बढाउने र उनीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समितिका सचिव पप्पु गुप्ताले बताए।

विद्यालयमै पुगेर शैक्षिक सामग्री वितरण गर्नुका साथै जन्माष्टमीका सांस्कृतिक गतिविधिमा सहभागी विद्यार्थीको प्रशंसा गरिएको थियो। यस कार्यक्रमले बालबालिकामा धार्मिक तथा सांस्कृतिक परम्पराप्रति रुचि बढाउन सहयोग पुग्ने समितिको विश्वास छ।

कार्यक्रम समितिका उपाध्यक्ष देवानन्द कलवारको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सचिव पप्पु गुप्ता, कोषाध्यक्ष रवि अग्रवाल, विजय सर्राफ, सदस्य श्याम गुप्ता, प्रभु साह, मुन्ना साह, दिपु गुप्ता र मुना सर्राफलगायतको सहभागिता थियो।

समितिले गहवा माई रथयात्रासँगै सामाजिक, शैक्षिक तथा धार्मिक–सांस्कृतिक क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ। जन्माष्टमीमा गरिएको यस कार्यक्रमले विद्यार्थीलाई अध्ययनप्रति उत्साहित गर्नुका साथै स्थानीय कला, संस्कृति र धार्मिक परम्पराको संरक्षण तथा पुस्तान्तरणमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*