बारामा तीन मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ स्थित ढुङ्ग्रे पुल नजिक पूर्व–पश्चिम राजमार्गमा तीन वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
बुधबार दिउँसो पथलैयाबाट चन्द्रपुरतर्फ जाँदै गरेको बा.प्र.–०६–००८ प ३२३० नम्बरको मोटरसाइकल तथा सुनसरीबाट पोखरातर्फ जाँदै गरेका ग १४ प २४१ र ग १६ प ५७८१ नम्बरका मोटरसाइकल आपसमा ठोक्किएका थिए।
दुर्घटनामा बा.प्र.–०६–००८ प ३२३० नम्बरको मोटरसाइकल चालक चितवनको खैरहनी नगरपालिका–६ का ४६ वर्षीय रञ्जन शर्मा पौडेल गम्भीर घाइते भएका थिए। टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेका पौडेललाई उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
दुर्घटनामा अन्य दुई मोटरसाइकलका चालक पनि घाइते भएका छन्। ग १४ प २४१ नम्बरका चालक सुनसरीको बरजु गाउँपालिका–५ का २७ वर्षीय खगेन्द्र पण्डित र ग १६ प ५७८१ नम्बरका चालक सोही स्थानका २५ वर्षीय रामशरण पण्डित घाइते भएका हुन्। उनीहरूको ढाड, हात र खुट्टामा चोट लागेको तथा अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि पथलैया प्रहरी चौकी, जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ र इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। दुर्घटनामा संलग्न तीनवटै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए।










