भोटेकोशी बाढी अपडेट : १,११४ शव फेला, ३ हजार ९१६ अझै बेपत्ता

कोल्हवी न्यूज
२०८३ भाद्र १८, बिहीबार ११:४१ गते

रसुवा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ११४ वटा मानव शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणले भदौ १७ गते बिहान ९ बजे सार्वजनिक गरेको विवरणअनुसार नदी तटीय तथा तल्लो तटीय क्षेत्रबाट संकलन गरिएका शवमध्ये हालसम्म ९५ जनाको मात्रै सनाखत भएको छ। सनाखत भएका शव आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ।

बाढीपछि अझै ३ हजार ९१६ जना सम्पर्कविहीन छन्। बेपत्ता हुनेमा स्थानीय बासिन्दादेखि सरकारी कर्मचारी, सुरक्षाकर्मी, जलविद्युत् आयोजनाका कामदार, विदेशी नागरिक तथा उनीहरूका नेपाली सहयोगीसमेत रहेका छन्।

प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ९१३ जनाको जीवित उद्धार गरिएको छ। उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरले दर्जनौँ उडान गरेका छन्।

बाढीमा परी घाइते भएका २९२ जनामध्ये १८२ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। बाँकी घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्राधिकरणले जनाएको छ।

त्यस्तै, नुवाकोट, धादिङ, रसुवा र काठमाडौँमा स्थापना गरिएका होल्डिङ सेन्टरमा ३ हजार ४५३ जना राखिएका छन्। बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका ३१ हजार ३१४ भन्दा बढी सुरक्षाकर्मी उद्धार तथा राहत कार्यमा परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*