कोल्हबीबाट १९ क्युफिट अवैध सालको काठ बरामद
कोल्हबी । बाराको कोल्हबी नगरपालिका–४ लामपोईनी क्षेत्रबाट चोरी गरी ल्याइएको आशंका गरिएको सालको काठ बरामद भएको छ।
वन कर्मचारी र प्रहरीको संयुक्त टोलीले झाडीमा लुकाएर राखिएको अवस्थामा पाँच थान सालका गोलिया बरामद गरेको हो। विशेष सूचनाका आधारमा परिचालन भएको टोलीले खोजी गर्ने क्रममा काठ फेला पारेको कोल्हबी सब–डिभिजन वन कार्यालयका वन अधिकृत कृष्ण पटेलले जानकारी दिए।
बरामद काठको कुल परिमाण १९ क्युफिट रहेको छ। यसको बजार मूल्य करिब ४२ हजार रुपैयाँ बराबर रहेको वन कार्यालयले जनाएको छ। काठ ओसारपसारमा संलग्न व्यक्ति वा समूहले लुकाएर राखेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
टोली घटनास्थलमा पुग्दा काठ राख्ने व्यक्ति नभेटिएको र उनीहरू भागेको हुनसक्ने आशंका गरिएको छ। बरामद काठ कोल्हबी सब–डिभिजन वन कार्यालयमा ल्याएर राखिएको छ।
काठ कहाँबाट कटान गरी ल्याइएको हो र घटनामा को–को संलग्न छन् भन्नेबारे वन कार्यालयले अनुसन्धान गरिरहेको जनाएको छ। संलग्न व्यक्तिको पहिचान भएपछि प्रचलित कानुनअनुसार कारबाही गरिने डिभिजन वन कार्यालय बाराले जनाएको छ।
डिभिजन वन अधिकृत सुजितकुमार झाले अवैध कटान तथा चोरी–निकासी नियन्त्रणका लागि वन क्षेत्रमा निगरानी र गस्ती बढाइएको बताए।










