सर्लाहीमा प्रधानाध्यापक कुटपिट र सवारीसाधन तोडफोड आरोपमा युवक पक्राउ
सर्लाही । सर्लाहीको बलरा नगरपालिका–४ स्थित एक विद्यालयका प्रधानाध्यापकलाई कुटपिट गर्नुका साथै सवारीसाधन तोडफोड गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बलरा नगरपालिका–२ का २० वर्षीय अभिषेक कापड रहेका छन्। उनलाई घटनामा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
बलरा–४ स्थित श्री रामसखी मोहित सिंह जनता उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरेन्द्र झामाथि कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो।
प्रारम्भिक अनुसन्धानअनुसार विद्यालयमा सरसफाइ गराउने विषयलाई लिएर विद्यार्थीलाई गालीगलौज तथा दुर्व्यवहार गरिएको भनिएको घटनाबारे विद्यार्थी र शिक्षकबीच छलफल भइरहेको थियो। सोही क्रममा प्रधानाध्यापक झामाथि कुटपिट भएको प्रहरीले जनाएको छ।
कुटपिटबाट प्रधानाध्यापक झा सामान्य घाइते भएका छन् भने उनको सवारीसाधनमा समेत क्षति पुगेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमका अनुसार घटनामा कापडको संलग्नताबारे थप अनुसन्धान भइरहेको छ। घटनामा संलग्न अन्य व्यक्तिको पहिचान तथा भूमिकाबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।










