मकवानपुरमा राप्ती खोलामा बगेका वृद्धको शव ५०० मिटर तल भेटियो
हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरमा राप्ती खोलाले बगाएका एक वृद्ध मृत फेला परेका छन्।
प्रहरीका अनुसार मंगलबार बिहान करिब ७ः१० बजे खोलाले मानिस बगाएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय नेवारपानीबाट टोली परिचालन गरिएको थियो। खोजीका क्रममा मनहरी गाउँपालिका–४ मसिनेका करिब ७० वर्षीय बलबहादुर रुम्बाको शव बस्तिपुर पुलबाट करिब ५०० मिटर तल खोलाको बीचमा काठ र ढुंगाको बीचमा अल्झिएको अवस्थामा फेला परेको हो।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा SOCO सहितको टोली खटिएको थियो। घटनास्थल मुचुल्का कार्य सम्पन्न गरी शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।










