एसीसी प्रिमियर कप : बहराइनसँग खेल्दै नेपाल, एसिया कप यात्राको सुरुवात आज

कोल्हवी न्यूज
२०८३ भाद्र १५, सोमबार ०६:१८ गते

काठमाडौँ । मलेसियामा जारी एसीसी मेन्स प्रिमियर कप क्रिकेटमा नेपालले सोमबार बहराइनविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ।

समूह ‘ए’ अन्तर्गतको खेल मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा नेपाली समयअनुसार बिहान सवा ७ बजे सुरु हुनेछ।

प्रतियोगितामा नेपालले सन्दीप लामिछानेको कप्तानीमा प्रतिस्पर्धा गर्दैछ। रोहित पौडेलको स्थानमा लामिछानेलाई एकदिवसीय टोलीको कप्तानको जिम्मेवारी दिइएको हो।

नेपालका लागि पहिलो खेल नै महत्वपूर्ण मानिएको छ। समूह चरणमा जितसहित राम्रो सुरुवात गर्दै सेमिफाइनलको यात्रा सहज बनाउने लक्ष्य नेपाली टोलीको छ।

नेपालले समूह चरणको दोस्रो खेल भदौ १८ गते आयोजक मलेसियासँग खेल्नेछ। त्यसपछि भदौ २१ गते साउदी अरेबिया र भदौ २३ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगितामा १० टोली सहभागी छन् भने समूह चरणबाट चार टोली सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको विजेता टोलीले सन् २०२७ मा आयोजना हुने एसिया कपमा स्थान बनाउने अवसर पाउनेछ।

बहराइनविरुद्धको खेलसँगै नेपालको एसिया कप यात्रासमेत औपचारिक रूपमा सुरु हुनेछ।

प्रतियोगिताको उद्घाटन दिन ओमान र हङकङले विजयी सुरुवात गरेका छन्। ओमानले सिंगापुरलाई १३१ रनले पराजित गर्दा हङकङले साउदी अरेबियामाथि १६ रनको जित निकालेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*