इस्लामावाद अस्पतालको नवजात वार्डमा आगलागी : १४ शिशुको मृत्यु, ८ अधिकारी निलम्बित
इस्लामावाद । पाकिस्तानको राजधानी इस्लामावादस्थित एक अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा १४ शिशुको मृत्यु भएको घटनामा आठ जना अधिकारी निलम्बित भएका छन्।
प्रधानमन्त्री शहबाज सरिफले घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदनका आधारमा निलम्बित अधिकारीमाथि फौजदारी कारबाही अघि बढाउन निर्देशन दिनुभएको छ। निलम्बित हुनेमा अस्पतालका कार्यकारी निर्देशक, नवजात शिशु विभागका प्रमुख तथा इस्लामावादको आपत्कालीन सेवाका महानिर्देशकलगायत छन्।
प्रधानमन्त्रीले गठन गर्नुभएको चार सदस्यीय समितिको प्रारम्भिक प्रतिवेदनअनुसार बुधबार बिहान ६ः३० बजेपछि सुरु भएको आगलागी करिब दुई मिनेटमै नवजात शिशु वार्डभर फैलिएको थियो। घटनाका बेला अस्पतालको निगरानीमा १५ शिशु रहेका थिए। तीमध्ये एक शिशुलाई नर्सले मात्र उद्धार गर्न सकेकी थिइन्।
प्रतिवेदनअनुसार आगलागी सुरु भएको करिब छ मिनेटपछि आपत्कालीन सेवालाई जानकारी दिइएको थियो भने पहिलो उद्धार टोली घटनास्थलमा पुग्न १५ मिनेट लागेको थियो।
घटनापछि अभिभावक तथा प्रत्यक्षदर्शीहरूले उद्धार कार्यमा ढिलाइ भएको आरोप लगाएका छन्। उनीहरूले सुरक्षाकर्मीले मानिसहरूलाई भवनबाट बाहिरिनसमेत रोक्ने प्रयास गरेको दाबी गरेका छन्।
अस्पतालमा आगलागी तथा अन्य आपत्कालीन अवस्थाका लागि आवश्यक सञ्चालन कार्यविधि र पर्याप्त तालिमको व्यवस्था नभएको पनि समितिको प्रतिवेदनमा उल्लेख छ। आगलागीका बेला वार्डमा दुई नर्स, एक महिला सुरक्षाकर्मी र एक अन्य कर्मचारी उपस्थित थिए।
स्वास्थ्यमन्त्री मुस्तफा कमालले यसअघि एयर कन्डिसनरबाट निस्किएको झिल्काका कारण आगलागी भएको हुन सक्ने बताउनुभएको थियो। तर प्रारम्भिक अनुसन्धानले आगलागीको वास्तविक कारण अझै पुष्टि नभएको जनाएको छ।
प्रधानमन्त्री सरिफले घटनामा जिम्मेवार व्यक्तिलाई कुनै छुट नदिइने बताउँदै दोषी देखिएकालाई कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको छ। अस्पतालको सुरक्षा व्यवस्थापनको जिम्मा पाएको कम्पनीविरुद्ध समेत कारबाही अघि बढाउन उहाँले स्वीकृति दिनुभएको छ।
घटनापछि स्वास्थ्य सचिव असलम घोरीलाई यसअघि नै पदबाट हटाइएको थियो।
पाकिस्तानमा कमजोर सुरक्षा मापदण्ड र नियमको फितलो कार्यान्वयनका कारण भवनमा आगलागीका घटना दोहोरिँदै आएका छन्। गत जनवरीमा कराँचीको एक सपिङ सेन्टरमा भएको आगलागीमा ६५ जनाभन्दा बढीको मृत्यु भएको थियो। सन् २०२३ मा कराँचीस्थित अर्को सपिङ मलमा भएको आगलागीमा कम्तीमा ११ जनाको मृत्यु भएको थियो। एएफपी










