वीरगञ्जतर्फ आउँदै गरेको इभि र सुमो मकवानपुरमा ठोक्किँदा ११ जना घाइते
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ पिपलबोटस्थित पूर्व–पश्चिम राजमार्गमा EV र सुमो आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् ।
आइतबार दिउँसो करिब १२ः३० बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ज.०६९७ नम्बरको यात्रुवाहक EV र विपरीत दिशाबाट आउँदै गरेको ना.१ ज.५८७३ नम्बरको यात्रुवाहक सुमो आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा सुमो चालकसहित ६ जना र EV चालकसहित ५ जना घाइते भएका छन् । घाइते सबैको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये सुमो चालक रविन्द्र उपाध्यायको दुवै खुट्टा र ढाडमा चोट लागेको छ । सुमोमा सवार राधिका देवीको टाउको र छातीमा चोट लागेकाले उनको अवस्था मध्यम रहेको छ भने अन्य घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, EV चालक सोमबहादुर गुरुङको छातीमा चोट लागेको छ । EV मा सवार खजिना खातुन, हरिन्द्र राय, राकेश महन्त र शत्रुधन कुशहवालाई पनि विभिन्न भागमा चोट लागेको छ । उनीहरूको अवस्था सामान्य रहेको छ ।
दुर्घटनाबाट दुवै सवारीसाधनमा क्षति पुगेको छ । दुवै सवारीसाधन प्रहरी चौकी रातोमाटेको नियन्त्रणमा रहेको र दुर्घटनापछि सडकमा कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा ट्राफिकसहितको प्रहरी टोली खटिएको छ ।










