क्यानडाको ओटवामा पहिलोपटक नेपाली समुदायले गरे गंगा आरती
ओटवा (क्यानडा) । क्यानडाको राजधानी ओटवामा नेपाली समुदायले पहिलोपटक गंगा आरती आयोजना गरेका छन्। जनैपूर्णिमाको अवसरमा रिड्यु नदीको किनारमा आयोजित आरतीमा नेपाली समुदायका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।
नेपालमा भएका प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाहरूको आत्माको शान्ति तथा संकट मोचनको कामनासहित यस वर्ष नियमित रक्षाबन्धन तथा जनै फेर्ने कार्यक्रमसँगै गंगा आरती आयोजना गरिएको आयोजकले जनाएको छ।
नदी किनारमा दीप प्रज्वलन, पूजा, भजन तथा सांगीतिक प्रस्तुतिसहित आरती गरिएको थियो। पण्डित धर्मदास शास्त्रीको अगुवाइमा प्रस्तुत गरिएको भजन तथा आरतीले कार्यक्रमलाई धार्मिक र सांस्कृतिक माहोलमा परिणत गरेको थियो।
कार्यक्रममा ज्योतिष तथा वास्तुविद् डा. वासुदेव कृष्ण शास्त्री, आध्यात्मिक पत्रकार समाज (आपस) का अध्यक्ष शिरोमणि दवाडी, भजन गायक तथा संगीतकार पण्डित धर्मदास शास्त्रीलगायत सहभागी थिए।
वक्ताहरूले प्रवासमा रहेका नेपालीले आफ्नो धर्म, संस्कार, भाषा र संस्कृति नयाँ पुस्तासम्म पुर्याउन यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। उनीहरूले सामूहिक धार्मिक तथा सांस्कृतिक गतिविधिले नेपाली समुदायबीचको एकता बलियो बनाउने र विदेशमा हुर्किरहेका नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानसँग जोड्न सहयोग पुग्ने बताए।
ओटवामा विगत पाँच वर्षदेखि जनैपूर्णिमाको अवसरमा सामूहिक रक्षाबन्धन तथा जनै फेर्ने कार्यक्रम हुँदै आएको छ। यस वर्ष भने कार्यक्रमलाई थप विस्तार गर्दै पहिलोपटक गंगा आरतीसमेत आयोजना गरिएको हो।
आयोजकहरूले आगामी वर्षहरूमा पनि गंगा आरतीलाई निरन्तरता दिने बताएका छन्।










