बाढीपछि राहत र उद्धारका लागि २० अर्ब बजेट छुट्याइयो
तिब्बतबाट आएको भीषण बाढीले पुर्याएको क्षति व्यवस्थापनका लागि सरकारले तत्काल परिचालन गर्न सकिने गरी करिब २० अर्ब रुपैयाँ बजेट छुट्याएको छ।
अर्थ मन्त्रालयका अनुसार प्रधानमन्त्री राहत कोष, गृह मन्त्रालयलगायतका स्रोतबाट आवश्यकताअनुसार रकम परिचालन गर्ने व्यवस्था मिलाइएको छ। साथै विश्व बैंकबाट ‘क्याट डिडीओ र्यापिड रेस्पोन्स’ सुविधामार्फत करिब २५ अर्ब रुपैयाँ बराबरको सहयोग जुटाउने प्रक्रिया अघि बढाइएको छ।
सरकारले विपद् व्यवस्थापनका लागि १० वटा बैंकमा खाता खोलेर उद्धार, राहत तथा अन्य आवश्यक कामका लागि स्रोत परिचालनको व्यवस्था गरेको छ। अर्थसचिव डा. घनश्याम उपाध्यायका अनुसार थप स्रोत व्यवस्थापनका लागि दातृ निकायसँग निरन्तर छलफल भइरहेको छ।
बाढी प्रभावित क्षेत्रमा कार्यरत भन्सारका आठ कर्मचारीको उद्धार भए पनि १५ जना अझै सम्पर्कविहीन छन्। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको अर्थ मन्त्रालयले जनाएको छ।
बाढीका कारण सीमा क्षेत्रमा १५० भन्दा बढी मालवाहक गाडी बगेका छन् भने ३०० भन्दा बढी विद्युतीय गाडीमा क्षति पुगेको बताइएको छ।
यसैबीच विपद्को अवस्था र क्षतिको विवरण संकलन तथा अनुगमनका लागि ‘आइ–बेस अनलाइन सूचना पोर्टल’ सञ्चालनमा ल्याइएको छ। प्रभावित क्षेत्रको आवश्यकता, सहयोग र स्रोतको मागबारे जानकारी लिन पोर्टल उपयोगी हुने सरकारले जनाएको छ।
विपद् व्यवस्थापनका लागि एसियाली विकास बैंकले समेत अनुदान सहयोगमा चासो देखाएको अर्थ मन्त्रालयले जनाएको छ।










