भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन
भोटेकोशी नदीमा आएको बाढीपछि विभिन्न देशका ६४४ पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो विवरणमा उनीहरू सम्पर्कमा नआएको उल्लेख छ।
बोर्डका अनुसार सम्पर्कविहीन हुनेमा भारतीय पर्यटकको संख्या सबैभन्दा धेरै १७८ रहेको छ। यस्तै नेपाली १२७, अमेरिकी ६५ र युक्रेनी ५३ जना छन्।
त्यसैगरी मलेसियाका ५१, अष्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ पर्यटक सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ। सिंगापुरका ९, रुसका ८, जर्मनीका ८ तथा लात्भिया र दक्षिण अफ्रिकाका ६/६ जना पर्यटक पनि सम्पर्कविहीनको सूचीमा छन्।
पर्यटन बोर्डले ट्राभल एजेन्सी तथा सम्बन्धित कम्पनीबाट प्राप्त विवरणका आधारमा तथ्यांक सार्वजनिक गरिएको जनाएको छ। सम्पर्कविहीन पर्यटकको अवस्थाबारे थप जानकारी संकलन तथा खोजी भइरहेको छ।










