रसुवाको बाढीपछि मधेशका ३० जना सम्पर्कविहीन, खोजी जारी

कोल्हवी न्यूज
२०८३ भाद्र ११, बिहीबार १३:०६ गते

जनकपुरधाम । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि मधेश प्रदेशका ३० जना सम्पर्कविहीन भएका छन्। उनीहरू रसुवाका विभिन्न क्षेत्रमा काम गर्ने वा बसोबास गर्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ।

मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले बिहीबार जारी गरेको विवरणअनुसार सम्पर्कविहीन हुनेमा पर्साका १६, बाराका ३, रौतहटका २, सर्लाहीका ६ र सप्तरीका २ जना रहेका छन्।

परिवार तथा आफन्तबाट प्राप्त सूचनाका आधारमा उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। बाढीपछि सम्पर्क टुटेका व्यक्तिहरूको अवस्था यकिन गर्न सम्बन्धित सुरक्षा निकायसँग समन्वय गरी खोज तथा उद्धार कार्य अघि बढाइएको छ।

प्रहरीका अनुसार सम्पर्कविहीनमध्ये सर्लाहीका ज्ञानबहादुर थिङ र श्यामलाल मोक्तान भने उद्धारपछि परिवारको सम्पर्कमा आएका छन्।

बाँकी व्यक्तिहरूको अवस्था अझै यकिन हुन नसकेको भन्दै प्रहरीले खोजीलाई तीव्रता दिएको छ। साथै, परिवार तथा आफन्तलाई अनावश्यक त्रास र भ्रममा नपर्न मधेश प्रदेश प्रहरीले आग्रह गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*