भारतको रक्सौल र आदापुरमा १९२ किलोभन्दा बढी गाँजा बरामद,नेपालीसहित दुई पक्राउ

कोल्हवी न्यूज
२०८३ भाद्र ११, बिहीबार १०:१२ गते

रौतहट,बारा पर्सा संग जोडिएको भारत–नेपाल सीमावर्ती क्षेत्रमा लागुऔषध तस्करीविरुद्ध भारतीय प्रहरी र सशस्त्र सीमा बल (एसएसबी) ले निगरानी र कारबाही तीव्र पारेका छन्। मोतीहारी जिल्ला प्रहरी प्रमुख आईपिएस अफिसर एसपी सुवर्ण प्रभातको कडा निर्देशन संगै भारतीय प्रहरी लागूऔषध कारोबार नियन्त्रण गर्न सक्रियता बढाएको हो।

 

 

 

रक्सौल र आदापुरमा गरिएको छुट्टाछुट्टै कारबाहीमा १९२ किलो ४२६ ग्राम गाँजा बरामद हुनुका साथै एक नेपाली नागरिकसहित दुई जना पक्राउ परेका छन्।

 

 

बुधबार अपराह्न रक्सौलको हरैया थाना क्षेत्रअन्तर्गत सीवान टोलमा हरैया प्रहरी र एसएसबीको संयुक्त टोलीले मोटरसाइकल जाँच गर्ने क्रममा सिटमुनि लुकाएर राखिएको ४ किलो ४२६ ग्राम गाँजा बरामद गरेको हो।

 

 

 

गाँजासहित प्रहरीले पर्सा जिल्ला सुगौली थाना क्षेत्रअन्तर्गत कुहडी निवासी २५ वर्षीय अवध किशोर प्रसादलाई पक्राउ गरेको जनाएको छ। उनको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।

 

 

प्रसादविरुद्ध एनडीपीएस ऐनअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको भारतीय प्रहरीले जनाएको छ।त्यस्तै, आदापुरको हरपुर थाना क्षेत्रमा प्रहरीले १८८ किलो गाँजा बरामद गरेको छ। गोप्य सूचनाका आधारमा बरवा पेट्रोल पम्पनजिकै सवारीसाधन जाँच गर्ने क्रममा बीआर–३०जीबी–२२८० नम्बरको १० चक्के ट्रकबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो।

 

 

 

प्रहरीका अनुसार ट्रकको इन्जिन बोगीमा विशेष रूपमा बनाइएको गोप्य बक्सभित्र १२ वटा पेटीमा गाँजा लुकाएर राखिएको थियो। घटनामा ट्रक चालक मुजफ्फरपुर जिल्लाको कान्ती थाना क्षेत्रअन्तर्गत हरिचन्दा निवासी शौकत अलीलाई पक्राउ गरिएको छ।
 

सीमामा नेपाली सुरक्षा संयन्त्रमाथि प्रश्न
एकै दिन सीमावर्ती भारतीय क्षेत्रमा भएको दुई छुट्टाछुट्टै कारबाहीमा ठूलो परिमाणमा गाँजा बरामद हुनु सामान्य लागुऔषध नियन्त्रणको घटनाभन्दा पनि सीमापार तस्करीको जालोप्रति गम्भीर संकेतका रूपमा हेरिएको छ।

 

 

 

विशेषगरी नेपालको मकवानपुरलगायत विभिन्न स्थानबाट ट्रक तथा मोटरसाइकलमा गाँजा बोकेर भारतीय सीमासम्म पुग्ने क्रम देखिनुले नेपालतर्फका सुरक्षा तथा जाँच संयन्त्रमाथि समेत प्रश्न उठाउँदै आएको छ।

 

 

 

नेपालबाट भारतीय क्षेत्रमा पुगिसकेपछि ठूलो परिमाणमा लागुऔषध बरामद भइरहनुले सीमापार तस्करीमा संलग्न समूहको सञ्जाल, नेपालतर्फ हुने सुरक्षा जाँच र सम्भावित मिलेमतोबारे गम्भीर अनुसन्धान आवश्यक देखिन्छ। यद्यपि पक्राउ परेका व्यक्तिहरूको संलग्नता र गाँजा कहाँबाट ल्याइएको थियो भन्ने विषय अनुसन्धानपछि मात्र स्पष्ट हुने देखिन्छ।

 

 

 

दुवै घटनामा बरामद गाँजा, मोटरसाइकल र ट्रक नियन्त्रणमा लिएर भारतीय प्रहरीले एनडीपीएस ऐनअन्तर्गत थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाएको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*