देशभरबाट लागुऔषध बरामद, १६ जना पक्राउ
काठमाडौं । प्रहरीले नियमित गस्तीका क्रममा देशका विभिन्न स्थानबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं, मोरङ, झापा, धनुषा, पर्सा, कञ्चनपुर, नवलपरासी पश्चिम र बाँकेबाट उनीहरू पक्राउ परेका हुन् ।
काठमाडौंको कपनबाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन् । मोरङ र झापाबाट पनि सोही प्रकृतिको पदार्थसहित ६ जना पक्राउ परेका छन् ।
धनुषाबाट २२ ग्राम ५८० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई जना तथा पर्साबाट करिब ५ सय ग्राम गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् ।
यस्तै, कञ्चनपुरबाट खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक जना, नवलपरासी पश्चिमबाट स्पास्मो, डाइजेपाम, फेनारगन र बुप्रेनोर्फिनसहित दुई जना तथा बाँकेबाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ परेकाहरूविरुद्ध सम्बन्धित प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।










