गरिमा चौधरी हत्या प्रकरणमा ५ बुँदे सहमति, आन्दोलन स्थगित

कोल्हवी न्यूज
२०८३ भाद्र ५, शुक्रबार १५:५३ गते

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर जारी आन्दोलन ५ बुँदे सहमतिपछि स्थगित भएको छ। बिहीबार राति पीडित पक्ष र प्रशासनबीच भएको लामो वार्तापछि सहमति जुटेसँगै सडक अवरोधसहितका आन्दोलनका कार्यक्रम तत्कालका लागि रोकिएका हुन्।

पथलैयास्थित सशस्त्र प्रहरी बलको प्राविधिक तालिम शिक्षालयमा भएको वार्तामा पीडित परिवार, आफन्त, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र जिल्ला सुरक्षा समितिबीच छलफल भएको थियो।

सहमतिको पहिलो बुँदाअनुसार पीडित परिवारलाई उचित राहत तथा रोजगारीको व्यवस्था गर्न स्थानीय तहको सहभागितामा गृह मन्त्रालयसमक्ष सिफारिस गरी आवश्यक पहल गरिने भएको छ।

त्यस्तै, घटनामा संलग्न भएको आरोपमा प्रहरी हिरासतमा रहेका संदिग्धमाथिको अनुसन्धानलाई निरन्तरता दिने र अनुसन्धानका क्रममा अन्य व्यक्तिको संलग्नता पुष्टि भए उनीहरूलाई समेत प्रचलित कानुनअनुसार कडा कारबाही गर्ने सहमति भएको छ।

जिल्लाको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन वर्तमान तथा भविष्यका सुरक्षा चुनौतीको विश्लेषण र पुनरावलोकन गरी नागरिकलाई भरपर्दो सुरक्षा वातावरण उपलब्ध गराउने जिम्मेवारी जिल्ला सुरक्षा समितिले लिने भएको छ।

यसैगरी, घटनाको अनुसन्धान तथा खोजीका क्रममा इलाका प्रहरी कार्यालय सिमरामा कार्यरत सुरक्षाकर्मीबाट लापरबाही भएको देखिए आवश्यक कारबाही गर्ने मागसमेत सम्बोधन गर्ने सहमति भएको छ। मागहरू पूरा हुने सुनिश्चिततापछि पीडित पक्ष आन्दोलन स्थगित गर्न सहमत भएको हो।

गरिमा चौधरीको शव भदौ २ गते जीतपुरसिमरा–१ स्थित एक खाली घरमा फेला परेको थियो। घटनापछि दोषीलाई कडा कारबाहीको माग गर्दै स्थानीय तथा पीडित परिवारले सडक अवरोधसहित विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*