सर्लाहीमा बाँसघारीको घरबाट ३०० किलो गाँजा बरामद
सर्लाहीमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। कोडैना गाउँपालिका–१ लक्ष्मीपुरस्थित बाँसघारीमा रहेको एक घरबाट प्रहरीले करिब ३०० किलो गाँजा बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमका अनुसार मंगलबार राति करिब १०ः१५ बजे स्थानीय बिजन पटेलको टाली र बाँसले बनेको भुस राख्ने घरमा गाँजा लुकाएर राखिएको सूचना प्रहरीलाई प्राप्त भएको थियो।
सूचनापछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उक्त घरमा खानतलासी गर्दा कोठाभित्र १५ बोरा गाँजा फेला पारेको थियो। बरामद गाँजाको तौल करिब ३०० किलो रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गाँजा बरामद भए पनि घरधनी बिजन पटेल भने सम्पर्कमा आएका छैनन्। उनको खोजी भइरहेको छ।
बरामद गाँजा कहाँबाट ल्याइएको हो र त्यसमा संलग्न अन्य व्यक्तिहरू को–को हुन् भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।










