रौतहटमा ५ वर्षभन्दा बढी कैद सजाय बाँकी रहेका १३ प्रतिवादी पक्राउ
रौतहटमा अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भएर लामो समयदेखि फरार रहेका १३ जना प्रतिवादी पक्राउ परेका छन्।
फरार प्रतिवादीलाई पक्राउ गर्ने विशेष अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय र मातहतका इकाइबाट परिचालित प्रहरी टोलीले बुधबार जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकालाई फैसला कार्यान्वयनका लागि रौतहट जिल्ला अदालत गौरमा पेश गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार पक्राउ परेकाहरू विद्युतीय अपराध, लागूऔषध, बिगो, चोरी, कुटपिट, चेक अनादर, अभद्र व्यवहार र बहुविवाहसम्बन्धी मुद्दामा दोषी ठहर भएका थिए।
उनीहरूमाथि अदालतको फैसलाअनुसार कुल ५ वर्ष ३ महिना २३ दिन कैद तथा १ लाख १८ हजार रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार लागूऔषध मुद्दामा सबैभन्दा बढी १ वर्ष १० महिना ६ दिन कैद तथा ९० हजार रुपैयाँ जरिवाना तोकिएको थियो। बिगो मुद्दामा २ वर्ष, बहुविवाहमा १ वर्ष २ दिन, विद्युतीय अपराधमा २ महिना ७ दिन र चोरी मुद्दामा १ महिना ८ दिनसम्म कैद सजाय तोकिएको थियो।
त्यस्तै, अभद्र व्यवहार मुद्दामा २ महिना कैद तथा कुटपिट र चेक अनादरसम्बन्धी मुद्दामा विभिन्न रकम जरिवाना गर्ने फैसला भएको प्रहरीले जनाएको छ।
फैसला कार्यान्वयन हुन बाँकी रहेका फरार प्रतिवादीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने अभियानलाई निरन्तरता दिने रौतहट प्रहरीले जनाएको छ।










