हेटौंडामा खहरे खोलाले चार बालिका बगायो, एकको मृत्यु, दुई बेपत्ता

कोल्हवी न्यूज
२०८३ भाद्र २, मंगलवार १८:३९ गते

हेटौंडा । विद्यालयबाट घर फर्किने क्रममा खहरे खोला तर्ने क्रममा मकवानपुरको हेटौंडा–१९ बासुदेवमा चार बालिका बगेका छन्। घटनामा एक बालिकाको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता छन्। एक बालिकाको भने उद्धार गरिएको छ।

मंगलबार साँझ करिब ५ः५५ बजे निर्मल माध्यमिक विद्यालय बस्तिपुरबाट घर फर्किने क्रममा उनीहरू बासुदेव खहरेमा बनेको लच्का तर्दै थिए। सोही क्रममा आएको खोलाको भेलले चारै जनालाई बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

खोजीका क्रममा हेटौंडा–१९ बस्तिपुरकी ८ वर्षीया रोसनी स्याङ्ताङलाई घटनास्थलबाट करिब ५०० मिटर तल रुखको जरामा अड्किएको अवस्थामा फेला पारिएको थियो। तत्काल उद्धार गरी हेटौंडा अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

खोलाबाट १३ वर्षीया सिमा भोलन भने आफैँ निस्कन सफल भएकी छन्। सामान्य चोट लागेकी उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि ११ वर्षीया सुमित्रा भोलन र १२ वर्षीया बिनिता भोलन बेपत्ता छन्। उनीहरूको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय नेवारपानी र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। बेपत्ता बालिकाको खोजीका लागि बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म हेटौंडा, सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण हेटौंडा र नेपाली सेनाको टोलीसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*