हेटौँडामा स्कुटर नालामा खस्दा २५ वर्षीय युवकको मृत्यु

कोल्हवी न्यूज
२०८३ भाद्र २, मंगलवार ११:३० गते

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–५ क्याम्पाडाँडामा स्कुटर दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु भएको छ।

मंगलबार बिहान करिब ५ः३५ बजे सानोपोखराबाट क्याम्पाडाँडातर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०२८ प ९७८९ नम्बरको स्कुटर कान्तिलोकपथ सडकखण्डमा अनियन्त्रित भई सडक छेउमा रहेको पानी जमेको नालामा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ घर भई हाल हेटौँडा–६ चौघडामा बस्दै आएका बालकुमार रञ्जितकारका छोरा २५ वर्षीय आवास रञ्जितकारको घटनास्थलमै मृत्यु भएको हो।

बिहान मर्निङवाकमा निस्किएका स्थानीयले दुर्घटना देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै वडा प्रहरी कार्यालय सानोपोखराबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक उमाशंकर प्रसादको कमाण्डमा अनुसन्धान टोली तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक रमेश विष्टको कमाण्डमा प्रहरी टोलीसमेत पुगेको थियो।

प्रहरीका अनुसार घटनास्थलबाट मृतकको शव तथा दुर्घटनामा परेको स्कुटर फेला परेको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमाण्डमा थप प्रहरी टोली परिचालन गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*