सिमरा वितरण केन्द्रको विद्युत् बक्यौता ७ अर्ब ८१ करोड, राजस्व भने बढ्यो
सिमरा । विद्युत् बिक्री र राजस्व संकलन बढाउँदै लगेको सिमरा वितरण केन्द्रको बक्यौता भने ७ अर्ब ८१ करोड ४९ लाख रुपैयाँ पुगेको छ। आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म केन्द्रको कुल बक्यौता उक्त रकम पुगेको हो।
केन्द्रका अनुसार बक्यौताको ठूलो हिस्सा बारा–पर्सा औद्योगिक करिडोरका ठूला उद्योगले प्रयोग गरेको डेडिकेटेड तथा ट्रंक लाइनको महसुल हो। हुलास स्टिल, जगदम्बा स्टिल, अशोक स्टिल र हामा आइरनको मात्रै करिब ७ अर्ब २१ करोड रुपैयाँ महसुल उठ्न बाँकी छ।
उद्योगहरूले गत मंसिरदेखि डेडिकेटेड तथा ट्रंक लाइनको किस्ता तिर्न छाडेपछि बक्यौता बढ्दै गएको केन्द्रले जनाएको छ। जगदम्बा स्टिलको मात्रै करिब १ अर्ब ६० करोड रुपैयाँ बक्यौता रहेको छ।
बक्यौता बढे पनि केन्द्रको वार्षिक राजस्व भने बढेको छ। गत आर्थिक वर्षमा ५ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन भएको छ। अघिल्लो वर्षको ४ अर्ब ४२ करोड रुपैयाँको तुलनामा यो ७७ करोड १० लाख रुपैयाँ बढी हो।
विद्युत् लाइन विच्छेदलगायतका माध्यमबाट बक्यौता असुली गर्दा ११ करोड ६० लाख रुपैयाँ संकलन भएको केन्द्रले जनाएको छ। यस अवधिमा ८८० नयाँ ग्राहक थपिएका छन्।
सिमरा क्षेत्रमा विद्युत् चुहावट २ दशमलव ०६ प्रतिशतमा सीमित भएको छ। विद्युत् बिक्री पनि बढेर गत आर्थिक वर्षमा ६६ करोड ७४ लाख युनिट पुगेको छ।
औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति सुधारका लागि ११ केभी लाइन मर्मत तथा पिलुवा सबस्टेसनदेखि औराहासम्म ३३ केभी लाइन सञ्चालनमा ल्याइएको केन्द्रले जनाएको छ।










