कोल्हवीका पत्रकारलाई धम्की र गालीगलौज गरेको भन्दै नेपाल पत्रकार महासंघ बाराको गम्भीर ध्यानाकर्षण
कोल्हवी-बारा ,नेपाल पत्रकार महासंघ बारा शाखाले पत्रकार सुरज विक्रम थापालाई धम्की तथा अपमानजनक गालीगलौज गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै पत्रकारमाथि हुने कुनै पनि प्रकारका धम्की, दुर्व्यवहार र दबाब अस्वीकार्य हुने स्पष्ट पारेको छ।
महासंघले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बारा क्षेत्र नं. १ का सांसद गणेश धीमालको स्वकीय सचिवका हवला दिने हरिओम शौनियारले गतराति कोल्हवी नगरपालिका–५ निवासी पत्रकार सुरज विक्रम थापालाई अश्लील तथा अपमानजनक भाषामा गालीगलौज गरेको आरोप लागेको छ।
समाचार लेखेकै विषयलाई लिएर सुनियोजित ढंगबाट मध्यरातमा पत्रकारलाई अमर्यादित गालीगलौज तथा धम्की दिइएको महासंघको भनाइ छ। महासंघले घटनालाई प्रेस स्वतन्त्रतामाथिको दबाबका रूपमा लिँदै दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न प्रहरी प्रशासनसँग जोडदार माग गरेको छ।
विज्ञप्तिमा आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यकर्ता हुँ भन्दै पत्रकारलाई धम्क्याउने शैलीप्रति समेत आपत्ति जनाइएको छ। महासंघले यस्ता गतिविधिले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षामा गम्भीर चुनौती खडा गर्ने उल्लेख गरेको छ।
त्यस्तै, पत्रकारलाई धम्क्याउने शौनियार नगर उद्योग वाणिज्य संघ कोल्हवीका महासचिवसमेत रहेको उल्लेख गर्दै महासंघले जिम्मेवार संस्थाको नेतृत्वमा रहेका व्यक्तिले व्यवसायी तथा पत्रकारमाथि प्रश्न उठाउँदा संयमित र मर्यादित व्यवहार गर्नुपर्ने जनाएको छ।
कुनै राजनीतिक दलको पक्षमा काम गर्न व्यवसायीको स्वतन्त्र संगठनमा बसेर पत्रकारमाथि दबाब सिर्जना गर्नु नैतिक रूपमा समेत उचित नहुने महासंघको ठहर छ।
नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरेको स्मरण गराउँदै महासंघले पत्रकारले समाचार लेखेकै आधारमा धम्की, गालीगलौज वा दबाब सहनुपर्ने अवस्था सिर्जना हुन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने जनाएको छ।
महासंघले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न माग गरेको छ।स्मरण रहोस बाराको कोल्हवीमा बिगतका दिन देखिनै पत्रकारलाई विभिन्न किसमका धाक धम्की,आक्रमण र समाजिक सन्जालमा गाली बेज्जत हुँदै आएको अवस्था छ।










