बाराको महागढीमाईमा अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट
बारा। महागढीमाई नगरपालिका क्षेत्रमा प्रहरीले अवैध रूपमा सञ्चालन हुँदै आएका घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरेको छ। प्रहरीले भट्टीमा प्रयोग हुँदै आएको करिब १० हजार लिटर कच्चा पदार्थसमेत सोही स्थानमा नष्ट गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार साउन २९ गते बिहान करिब ११ः३० बजे महागढीमाई नगरपालिका–३ ग्वास टोल र वडा नम्बर १० गंजभवानीपुर गाउँमा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको सूचना प्राप्त भएको थियो।
सूचनापछि प्रहरी चौकी गंजभवानीपुरबाट प्रहरी नायब निरीक्षक बहादुर प्रसाद यादवको कमाण्डमा ३ जना तथा जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी नायब निरीक्षक नवलकिशोर साहको कमाण्डमा १३ जनाको संयुक्त टोली परिचालन गरिएको थियो।
प्रहरी टोलीले ती स्थानमा पुगेर अवैध रूपमा सञ्चालन गरिएका घरेलु मदिरा उत्पादन गर्ने भट्टीहरू नष्ट गर्नुका साथै भट्टीमा रहेको करिब १० हजार लिटर कच्चा पदार्थ नष्ट गरेको हो। घटनास्थलबाट सानो प्लास्टिकका ११ थान ड्रम र टिनको १ थान ड्रमसमेत बरामद गरी जिल्ला प्रहरी कार्यालय बारामा ल्याएर राखिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अवैध घरेलु मदिरा उत्पादनमा संलग्न रहेको आशंकामा महागढीमाई–३ का सोभिलाल राम, खुबलाल राम, सावित्री पासवान, राजकुमार राम र अस्पताली राम तथा वडा नम्बर १० का भोला राम, प्रभु राम र रामानन्द जैसवालको नाम खुलेको छ।
प्रहरीले अवैध रूपमा घरेलु मदिरा उत्पादन तथा बिक्री–वितरण गर्ने गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई निरन्तरता दिने जनाएको छ। स्थानीय क्षेत्रमा यस्ता गतिविधिले स्वास्थ्य, सामाजिक सुरक्षा तथा शान्ति–सुरक्षामा समेत असर पार्न सक्ने भएकाले प्रहरीले सूचना उपलब्ध गराउन सर्वसाधारणलाई आग्रह गरेको










