सल्यानमा जिप भेरी नदीमा खस्दा दुई जना बेपत्ता: दुई जना घाइते

कोल्हवी न्यूज
२०८३ श्रावण २७, बुधबार १८:०९ गते

सल्यानमा जिप भेरी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् ।

छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत बनगाड कुपिण्डे नगरपालिका–१ बाङ्गिरह नजिकै लु १ ज ३०२२ नम्बरको जिप सडकबाट अनियन्त्रित भई भेरी नदीमा खसेको प्रहरीले जनाएको छ ।

बालुवा सङ्ग्रीबाट सल्लीबजारतर्फ फर्किँदै गरेको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा जिप चालक र जिपधनी भेरी नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी दीपक पातलीले जानकारी दिए । बेपत्ता दुवै जनाको पहिचान भने खुलिनसकेको प्रहरीले जनाएको छ ।

बेपत्ताको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी र स्थानीयवासी परिचालन गरिएको छ । नदीमा जिप खसेको स्थानमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बनगाड कुपिण्डे नगरपालिका–१ आँपखोलीका २९ वर्षीय प्रेम विक र सोही स्थानका २१ वर्षीय खुमलाल बुढाथोकी घाइते भएका छन् । दुवैको अवस्था सामान्य रहेको र स्थानीय अस्पतालमा उपचार भइरहेको डीएसपी पातलीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*