सर्लाहीबाट स्रोत खुल्न नसकेको ५१ लाख ३४ हजार रुपैयाँ नगदसहित एक जना पक्राउ

कोल्हवी न्यूज
२०८३ श्रावण २७, बुधबार १७:५७ गते

सर्लाही प्रहरीले स्रोत खुल्न नसकेको ५१ लाख ३४ हजार रुपैयाँ नगदसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका–१२ का करिब ५७ वर्षीय जगन्नाथ महतो कोईरी रहेका छन् ।

प्रहरीका अनुसार ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिर अगाडिबाट भेल्हीबाट वयलबासतर्फ जाँदै गरेको ज १० प ८६५२ नम्बरको स्कुटर जाँच गर्ने क्रममा उक्त रकम बरामद भएको हो ।

स्कुटरको डिक्की र कालो झोलाभित्र लुकाइराखिएको अवस्थामा नेपाली १ हजार रुपैयाँ दरका ३ हजार ५ सय थान, ५ सय रुपैयाँ दरका ३ हजार १ सय ८ थान, १ सय रुपैयाँ दरका ७ सय थान र ५० रुपैयाँ दरका २ सय थान नोट फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले स्कुटर रोक्न खोजेपछि चालक कोईरी भाग्न खोजेका थिए । प्रहरीले पछ्याउने क्रममा स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा कोईरी घाइते भएका थिए । उनलाई नियन्त्रणमा लिएर मलंगवास्थित म्याक्स अस्पतालमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

कोईरीलाई नियन्त्रणमा लिने क्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएका प्रहरी सहायक हवल्दार राजेशकुमार यादव र प्रहरी जवान रामचन्द्रसमेत सामान्य घाइते भएका छन् । उनीहरूको प्रादेशिक अस्पताल मलंगवामा उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।

बरामद रकमको स्रोत तथा घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*