मकवानपुरको बकैयामा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीय थिङ घाइते

कोल्हवी न्यूज
२०८३ श्रावण २७, बुधबार १७:१३ गते

हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका–३ हात्तीसुँडेमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक जना घाइते भएका छन्। दुर्घटनापछि फरार भएका मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार मंगलबार दिउँसो करिब ३ः२० बजे मदन भण्डारी लोकमार्गअन्तर्गत हात्तीसुँडेबाट फापरबारीतर्फ जाँदै गरेको २२० सीसीको पल्सर मोटरसाइकलले बाटोमा हिँडिरहेका स्थानीय ५५ वर्षीय शनि थिङलाई ठक्कर दिएको हो।

दुर्घटनामा थिङको टाउको, अनुहार, दाहिने हात र खुट्टामा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। घाइते थिङलाई उनकी श्रीमतीको साथमा उपचारका लागि हेटौँडातर्फ पठाइएको थियो।

ठक्कर दिएपछि मोटरसाइकल चालक घटनास्थलबाट फरार भएका थिए। फरार चालक र मोटरसाइकलको खोजीमा खटिएको प्रहरी टोलीले साँझ करिब ७ बजे बकैया–३ स्थित चिसापानी जंगलबाट ठक्कर दिने बा २८ प २१०० नम्बरको मोटरसाइकल फेला पारी नियन्त्रणमा लिएको हो।

प्रहरीले मोटरसाइकल प्रहरी चौकी हात्तीसुँडेमा राखेको जनाएको छ। चालकलाई समेत नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*