हेटौंडा फुटबल एकेडेमीको इन्डिपेन्डेन्स डे कप यात्रा क्वार्टरफाइनलमै समाप्त

कोल्हवी न्यूज
२०८३ श्रावण २७, बुधबार ०७:०१ गते

हेटौंडा । भारतको पाक्योङ जिल्लामा जारी ८०औँ इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगिता मा हेटौंडा फुटबल एकेडेमी क्वार्टरफाइनलबाटै बाहिरिएको छ।

पाक्योङ स्पोर्टिङ क्लबको आयोजना तथा पाक्योङ जिल्ला प्रशासन केन्द्रको सहकार्यमा सञ्चालित खुला नकआउट प्रतियोगिताको क्वार्टरफाइनलमा हेटौंडा फुटबल एकेडेमी घरेलु टोली फरेष्ट डिपार्टमेन्टसँग ३–१ गोलअन्तरले पराजित भएको हो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफ सुरु भएको केही समयमै हेटौंडाले पेनाल्टीको अवसर पायो। फरेष्ट डिपार्टमेन्टका खेलाडीले डिबक्सभित्र फाउल गरेपछि प्राप्त पेनाल्टीलाई कृष्ण आले मगरले गोलमा परिणत गर्दै हेटौंडालाई १–० को अग्रता दिलाए।

तर अग्रता लामो समय टिकेन। फरेष्ट डिपार्टमेन्टका दानियल लियाङले फ्रिकिकबाट आएको बललाई हेडमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। त्यसपछि लियाङले नै व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाए।

खेल सकिन पाँच मिनेट बाँकी रहँदा फरेष्ट डिपार्टमेन्टले अर्को गोल थपेपछि हेटौंडा ३–१ ले पराजित भयो।

एसटी जेर्भिएस विद्यालय पाक्योङको खेलमैदानमा भइरहेको प्रतियोगितामा २० टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको फाइनल अगस्ट १५ अर्थात् भारतको स्वतन्त्रता दिवसका दिन हुनेछ।

प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेताले २ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*