नेप्से १३.८२ अंकले घट्यो, अधिकांश कम्पनीको सेयर मूल्य ओरालो
साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३.८२ अंकले घटेर २ हजार ६५४.५६ विन्दुमा झरेको छ। कारोबार अवधिभर बजार ओरालो लाग्दा अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको हो।
आज ६४ कम्पनीको सेयर मूल्य बढ्दा २०२ कम्पनीको मूल्य घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ। कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेर ४ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ४० करोड रुपैयाँको सेयर किनबेच भएको थियो।
समूहगत सूचकतर्फ व्यापार समूहबाहेक सबै समूहमा गिरावट आएको छ। व्यापार समूह ०.५९ प्रतिशतले बढ्दा बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, निर्जीवन बीमा तथा अन्य समूहका सूचक घटेका छन्।
कारोबार रकमका आधारमा जलविद्युत् समूह अग्रस्थानमा रहँदै २ अर्ब ४७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। त्यसपछि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स समूहको कारोबार उल्लेख्य रह्यो।
व्यक्तिगत कम्पनीतर्फ अपर लोहोरेखोलाको सेयर मूल्य १५ प्रतिशतले बढेर सबैभन्दा धेरै लाभ कमाएको छ। यता स्नो रिभर फल्स, जोशी हाइड्रोपावर र कृषि विकास बैंकको सेयर मूल्यमा उल्लेख्य गिरावट आएको छ।










