जनकपुर यातायात कार्यालयले एक वर्षमा ५७ करोडभन्दा बढी राजस्व संकलन

कोल्हवी न्यूज
२०८३ श्रावण २१, बिहीबार १६:३१ गते

जनकपुर । यातायात व्यवस्था कार्यालय जनकपुरधामले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न सेवा प्रवाहमार्फत ५७ करोड १५ लाख ३० हजार ६३६ रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।

कार्यालय प्रमुख वासुदेव मल्लका अनुसार नयाँ सवारीसाधन दर्ता, सवारी नवीकरण तथा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणलगायत सेवाबाट उक्त राजस्व संकलन भएको हो।

यद्यपि, यो राजस्व अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ९ करोड ५४ लाख १३ हजार ३४४ रुपैयाँले कम रहेको कार्यालयले जनाएको छ। अघिल्लो वर्ष कार्यालयले ६६ करोड ६९ लाख ४३ हजार ९८० रुपैयाँ राजस्व उठाएको थियो।

कार्यालयका अनुसार राजस्व घट्नुमा गत भदौमा भएको ‘जेनजी’ आन्दोलन र आर्थिक वर्षको अन्त्यतिर नयाँ सफ्टवेयर प्रणाली कार्यान्वयनका क्रममा सेवा प्रवाह प्रभावित हुनु मुख्य कारण रहेको छ।

गत आर्थिक वर्षमा कार्यालयमा २१ हजार २९४ वटा नयाँ सवारीसाधन दर्ता भएका छन्। तीमध्ये सबैभन्दा बढी १६ हजार ९५७ वटा मोटरसाइकल दर्ता भएका छन् भने टेम्पो तथा विद्युतीय रिक्सा १ हजार ९०२, ट्र्याक्टर १ हजार २२, जिप तथा कार २२६ र बस तथा ट्रक १८७ वटा दर्ता भएका छन्।

यस अवधिमा नयाँ तथा वर्ग थपसहित १३ हजार ३३८ जनालाई सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरिएको कार्यालयले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*