निर्वासनमा रहेकी शेख हसिनाको घोषणा– ‘म बंगलादेश फर्किन्छु’

कोल्हवी न्यूज
२०८३ श्रावण २१, बिहीबार १६:२९ गते

भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू स्वदेश फर्किने घोषणा गरेकी छन्। मृत्युदण्डको सजाय सुनाइए पनि देश र नागरिकको सेवाबाट पछि नहट्ने उनको भनाइ छ।

दक्षिण एसियाली विदेशी पत्रकार क्लबले आयोजना गरेको कार्यक्रममा भिडियो सन्देशमार्फत बोल्दै ७८ वर्षीया हसिनाले पक्राउ पर्ने वा जेल जानुपर्ने अवस्था आए पनि आफ्नो राजनीतिक जिम्मेवारीबाट पछि नहट्ने बताएकी हुन्।

उनले स्वदेश फर्किने निश्चित मिति सार्वजनिक नगरे पनि सम्भव भएसम्म यसै वर्षको डिसेम्बरभित्र बंगलादेश फर्किने इच्छा व्यक्त गरेकी छन्। साथै, आफ्नो दल आवामी लिगमाथि लगाइएको प्रतिबन्ध हटाउन पनि उनले माग गरेकी छन्।

सन् २०२४ मा विद्यार्थी नेतृत्वको आन्दोलनका क्रममा भएको हिंसात्मक घटनापछि हसिनाले सत्ता छाडेर हेलिकोप्टरमार्फत भारतको नयाँ दिल्ली पुगेकी थिइन्। त्यसयता उनी भारतमै निर्वासनमा बस्दै आएकी छन्।

गत वर्ष ढाकास्थित अदालतले उनको अनुपस्थितिमै चलेको मुद्दामा हत्या गराउने आदेश दिएको, हिंसा रोक्न असफल भएको तथा मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो।

यता, बंगलादेशले हसिनाको सुपुर्दगीका लागि भारतसँग पटक–पटक आग्रह गर्दै आएको छ। भारतले भने विषय कानुनी प्रक्रियाअनुसार अध्ययन भइरहेको जनाएको छ। साथै, हसिनाको पछिल्लो भिडियो सम्बोधनसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पार्दै त्यसमा व्यक्त विचारलाई समर्थन नगर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*