मकवानपुरमा मनहरी खोलाले बगाउँदा कैलाशका चेपाङ युवा बेपत्ता, खोजी कार्य जारी
मकवानपुरको कैलाश गाउँपालिका–४ सिसौटारमा मनहरी खोला तर्ने क्रममा देउतिसका एक चेपाङ युवा बेपत्ता भएका छन्।
प्रहरीका अनुसार, साउन २० गते राति करिब ११:०० बजे कैलाश गाउँपालिका–४ सिसैटा निवासी २५ वर्षीय प्रकाश तामाङ र सोही स्थानका ३२ वर्षीय अशोक प्रजा कालिकाटारबाट देउतीसस्थित आफ्नै घर फर्किने क्रममा मनहरी खोला तर्दै थिए। सोही क्रममा खोलाको तीव्र बहावले दुवै जनालाई बगाएको थियो।
घटनामा प्रकाश तामाङ सकुशल बाहिर निस्कन सफल भएका भने अशोक प्रजा खोलाले बगाएपछि बेपत्ता भएका छन्।
घटनाबारे साउन २१ गते बिहान करिब ९:१५ बजे प्रहरी चौकी भार्ता, मकवानपुरमा सूचना प्राप्त हुनासाथ प्रहरी चौकी भार्ता, प्रहरी चौकी चैनपुर तथा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले स्थानीयवासीसँग समन्वय गरी बेपत्ता अशोक प्रजाको खोजी तथा उद्धार कार्य तीव्र रूपमा सञ्चालन गरिरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।










