बत्ती बाल्ने क्रममा करेन्ट लाग्दा बारामा ६० वर्षीय पुरुषको मृत्यु
बारा । बाराको आदर्श कोतवाल गाउँपालिका–७ कोतवाली बेल्वामा बिजुलीको पोलमा हुक लगाएर बत्ती बाल्ने क्रममा करेन्ट लाग्दा एक पुरुषको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय ६० वर्षीय गणेश महतो कोईरी रहेका छन्। प्रहरीका अनुसार बिहीबार बिहान करिब १०ः४० बजे बिजुलीको पोलमा हुक लगाउने क्रममा तार विद्युत् लाइनमा अल्झिएपछि अर्को तार उनको शरीरमा खस्दा उनी गम्भीर घाइते भएका थिए।
घाइते कोईरीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिए पनि उपचारकै क्रममा चिकित्सकले दिउँसो करिब १२ः०५ बजे मृत घोषणा गरेका थिए।
घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय महेन्द्र जयनगरबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।










