रौतहटमा पेट्रोल ट्याङ्कर पल्टिएर आगलागी, चालक सकुशल
रौतहट । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ धनसार पुल नजिक पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनाग्रस्त हुँदा आगलागी भएको छ।
आज बिहान करिब ५ः३० बजे अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल ट्याङ्कर अनियन्त्रित भएर पल्टिएपछि आगो लागेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
दुर्घटनालगत्तै ट्याङ्करमा आगलागी भए पनि चालक समयमै बाहिर निस्कन सफल भएकाले उनी सकुशल रहेका छन्। घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
आगलागी नियन्त्रण तथा घटनाको थप अनुसन्धानका लागि प्रहरी र सम्बन्धित निकाय परिचालित रहेका छन्। दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।










