पत्रकार परिचयपत्र देखाएर लागूऔषध कारोबार, ४४ ग्राम खैरो हेरोइनसहित तीन पक्राउ
पत्रकारको परिचयपत्रको दुरुपयोग गर्दै लागूऔषध कारोबार भइरहेको तथ्य प्रहरी अनुसन्धानबाट खुलेको छ। लागूऔषध नियन्त्रण ब्युरोले पत्रकार परिचयपत्र बोकेर खैरो हेरोइन ओसारपसार गरिरहेका तीन जनालाई पक्राउ गरेको छ।
ब्युरोको शाखा कार्यालय बर्दिबासबाट खटिएको टोलीले बुधबार सिन्धुलीको दुधौली नगरपालिका–९ बाट बा.१६ च ७८४६ नम्बरको कारसहित सिरहाका २६ वर्षीय उमेश कुमार यादव, ३० वर्षीय रमेश कुमार राम र २५ वर्षीय गुल्सन प्रसाद साहलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरू सिरहाको मिर्चैयाबाट काठमाडौंतर्फ खैरो हेरोइन ल्याउँदै थिए। पक्राउ परेका कार चालक उमेश यादवसँग जनजागरण खबर को पत्रकार परिचयपत्र फेला परेको छ। उक्त परिचयपत्रमा सिरहाको लहान–२२ ठेगाना उल्लेख रहेको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ।
प्रहरीले कारको गियर बक्सभित्र लुकाएर ल्याइएको ४४ ग्राम ३४० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ। साथै, प्रयोग गरिएको कार हुलास फाइनान्समार्फत किस्ताबन्दीमा खरिद गरिएको खुलेको छ।
पक्राउ परेका तीनै जनामाथि इलाका प्रहरी कार्यालय डकाहा, सिन्धुलीले लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइरहेको छ।










