मधेशका चार जिल्लामा एकैदिन पाँच जनाको मृत्यु, सडक दुर्घटनाले बढायो चिन्ता
बारा । मधेश प्रदेशका बारा, सर्लाही, महोत्तरी र सप्तरीमा सोमबार भएका छुट्टाछुट्टै सडक दुर्घटनामा १२ वर्षीय बालकसहित पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। ट्रकको ठक्कर र तीव्र गतिका कारण भएका दुर्घटनाले प्रदेशमा सडक सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुही चोकमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा पर्सा वीरगञ्ज महानगरपालिका–३२ निवासी १२ वर्षीय कनाई महतोको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा उनका बुवा ३२ वर्षीय राजेश महतो घाइते भएका छन्।
सर्लाहीको हरिवन नगरपालिका–४ गणेश चोकमा ट्रकको ठक्करबाट साइकलयात्री करिब ५० वर्षीय पंचलाल चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै, महोत्तरीको गौशाला नगरपालिका–५ मा मोटरसाइकलको ठक्करबाट घाइते भएकी ८० वर्षीया खैतुन खातुनको उपचारका क्रममा मृत्यु भएको छ भने उनका ५ वर्षीय नाति तोकिर अन्सारी उपचाररत छन्।
सप्तरीको महादेवा गाउँपालिका–१ चिमटीमा तीव्र गतिमा रहेको मोटरसाइकल कल्भर्टमा ठोक्किएर खस्दा चालक ३५ वर्षीय सन्तोष राम र पछाडि सवार ४५ वर्षीय शंकर रामको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
प्रहरीले सबै दुर्घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ। पछिल्ला दिनमा बढ्दै गएका सडक दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिक नियमको कडाइका साथ पालना, सुरक्षित गति र चालकको उच्च सतर्कता आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।










