बारामा मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
बारा । बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२३ भलुही चौकमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा १२ वर्षीय बालकको मृत्यु भएको छ भने उनका बुवा घाइते भएका छन्।
प्रहरीका अनुसार सोमबार राति करिब ८ः४५ बजे प्रदेश २–०३–००२ प १११९ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा साइकल चालक पर्सा वीरगञ्ज महानगरपालिका–३२ निवासी ३२ वर्षीय राजेश महतो र साइकलको पछाडि सवार उनका १२ वर्षीय छोरा कनाई महतो घाइते भएका थिए।
घाइते दुवैलाई उपचारका लागि बाराको परवानीपुरस्थित एल.एस. न्युरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा राति १०ः५४ बजे कनाई महतोको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका राजेश महतोको अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।










