बारामा साउनमै ३१ लाखभन्दा बढीका अवैध सामान बरामद
बारामा सशस्त्र प्रहरीले साउन महिनाभर विभिन्न सीमा नाकाबाट भन्सार छली गरी नेपाल भित्र्याइएका करिब ३१ लाख ७९ हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वार्टर बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवालका अनुसार मंगलबार बिश्रामपुर गाउँपालिका–४ खुदियाटोला सीमा क्षेत्रमा गरिएको कारबाहीसँगै साउन महिनामा बरामद भएका अवैध सामानको कुल मूल्य करिब ३१ लाख ७९ हजार रुपैयाँ पुगेको हो।
सीमा सुरक्षा चौकी (बीओपी) बरैनियाबाट खटिएको टोलीले भारतबाट भन्सार छली गरी नेपाल ल्याइँदै गरेका ७७९ थान लेडिज टप्स, ७६ थान लेडिज कुर्ता, पेय पदार्थ, किराना सामग्री तथा औषधिसहित करिब ६ लाख १९ हजार ९१० रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरी टोलीलाई देख्नासाथ सामान ओसारपसारमा संलग्न व्यक्तिहरू सामान छाडेर फरार भएको र उनीहरूको खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएका सबै सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाइने तयारी गरिएको छ।
एसपी सिलवालका अनुसार बीओपी बरैनियाले मात्रै साउन महिनामा करिब २५ लाख ६० हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरिसकेको छ। सीमा क्षेत्रमा हुने चोरी–पैठारी तथा भन्सार छली नियन्त्रणका लागि गस्ती र निगरानी थप प्रभावकारी बनाइएको उनले बताए।










