सांग्रीला डेभलपमेन्ट बैंक मकवानपुरको कर्तुत,लिलामी अघि ऋणी बेखवर पछि जग्गा बेपत्ता
रौतहट,बैंकले ऋण नतिर्ने ऋणीको धितो लिलाम गर्नु कानुनी प्रक्रिया हो। तर, लिलामी नै गोप्य राखियो, ऋणीलाई सुइँकोसम्म दिइएन र अन्त्यमा बैंक प्रमुखकै आफन्तको नाममा जग्गा पुग्यो भन्ने आरोप उठेपछि यो प्रकरण सामान्य बैंकिङ कारोबारभन्दा धेरै माथिको विषय बनेको छ।
यस्तै गम्भीर आरोपको घेरामा परेको छ सांग्रीला डेभलपमेन्ट बैंकको मकवानपुरस्थित रजैया शाखा। रौतहटको चन्द्रपुर नगरपालिका–१०, बलुवाका शिवनाथ ठाकुरले बैंकले योजनाबद्ध रूपमा आफ्नो साढे सात कट्ठा जग्गा हडपेको आरोप सार्वजनिक गरेका छन्।
ठाकुरका अनुसार उनले २०७६ सालमा मनकामना ईट्टा सप्लाइ सञ्चालनका लागि बैंकबाट २८ लाख रुपैयाँ ऋण लिएका थिए। सो ऋणको धितोस्वरूप बलुवास्थित करिब साढे सात कट्ठा जग्गा बैंकमा राखिएको थियो। तर, उनको दाबी छ-२०८२ साउन ९ गते बैंकले आफूलाई कुनै जानकारी नै नदिई गोप्य रूपमा लिलामी प्रक्रिया पूरा गरेर उक्त जग्गा ३८ लाख रुपैयाँमा बिक्री गरिदियो।
यहाँबाट प्रकरण अझै पेचिलो बन्छ। लिलामीबाट जग्गा खरिद गर्ने व्यक्ति सर्लाहीको सुन्दरपुर चोहर्वा–७ का रामआशिष चौधरी रहेको बताइएको छ। ठाकुरको आरोप छ, चौधरी बैंकका शाखा प्रमुख युराज चौधरीका आफन्त हुन्। यति मात्र होइन, उनी चन्द्रपुर नगरपालिका–१० का वडाध्यक्ष टंकेश्वर चौधरीसँग समेत पारिवारिक सम्बन्धमा रहेको उनको दाबी छ।
यदि यी आरोप पुष्टि भए, यो केवल लिलामी होइन, ‘आफ्नै मान्छेलाई सम्पत्ति सुम्पिने योजनाबद्ध खेल’ भएको आशंका स्वतः जन्मिन्छ।
शुक्रबार चन्द्रनिगाहपुरस्थित सगुन बेकरीमा पत्रकार सम्मेलन गर्दै ठाकुरले आफूलाई लिलामीको कुनै सूचना नदिइएको बताए। “थाहा पाएको भए ऋण चुक्ता गर्ने वा अर्को व्यवस्था मिलाउने अवसर मसँग थियो। तर बैंकले त्यो अवसर नै खोस्यो,” उनले भने।
उनका अनुसार अहिले उनी गम्भीर मानसिक तनावमा छन्। “मेरो सबै सम्पत्ति गयो। अब म सुकुम्बासीजस्तै बनेको छु।
न्याय नपाए परिवारसहित सडकमा आउनुपर्ने अवस्था छ,” भन्दै उनले सम्बन्धित निकायसँग निष्पक्ष छानबिनको माग गरेका छन्।
ठाकुरको आरोप छ—लिलामी प्रक्रिया नियतवश गोप्य राखियो, सूचना लुकाइयो र बैंकभित्रकै मिलेमतोमा कम मूल्यमा आफ्नै निकट व्यक्तिलाई जग्गा जिम्मा लगाइयो।
घटनाबारे प्रतिक्रिया लिन सांग्रीला डेभलपमेन्ट बैंकको रजैया शाखासँग सम्पर्क गर्न खोजिए पनि शाखाका कर्मचारी सम्पर्कमा आएनन्। त्यसैले बैंकको आधिकारिक धारणा प्राप्त हुन सकेको छैन।
ठाकुरले उठाएका आरोप प्रमाणित भए, यो एउटा ऋणीको जग्गा लिलामको घटना मात्र रहने छैन। यसले बैंकिङ प्रणालीको पारदर्शिता, धितो लिलामी प्रक्रियाको विश्वसनीयता र स्वार्थको द्वन्द्वमाथि गम्भीर प्रश्न खडा गर्नेछ। त्यसैले अब नियामक निकायले निष्पक्ष, तथ्यपरक र शीघ्र छानबिन गरेर सत्य सार्वजनिक गर्नु आवश्यक देखिन्छ।










