रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु
रोमानियामा रेलको ठक्करबाट दुई नेपाली नागरिकको मृत्यु भएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार आइतबार बिहान भएको दुर्घटनामा २५ र ३६ वर्ष उमेरका दुई नेपालीको ज्यान गएको हो।
दुर्घटना रोमानियाको राजधानी बुखारेस्टबाट करिब ३०८ किलोमिटर टाढा रहेको बाकाउ सहरको चिमीई रेलमार्गमा भएको बताइएको छ। प्रारम्भिक विवरणअनुसार रेलमार्ग हुँदै हिँडिरहेका बेला उनीहरूलाई रेलले ठक्कर दिएको थियो।
मृतक नेपालीहरूको परिचय भने अझै सार्वजनिक गरिएको छैन। रोमानियासमेत कार्यक्षेत्र रहेको बर्लिनस्थित नेपाली राजदूतावासले दुर्घटनाबारे जानकारी प्राप्त भएको पुष्टि गर्दै मृतकको पहिचान खुल्ने प्रक्रिया जारी रहेको जनाएको छ।
रोजगारीका लागि ठूलो संख्यामा नेपाली जाने युरोपेली मुलुकमध्ये रोमानिया पनि एक हो। त्यहाँ हाल करिब ५० हजार नेपाली कामदार कार्यरत रहेको अनुमान गरिएको छ।










