अमेरिकी भिसामा नयाँ नियम, नेपाली आवेदकले ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

कोल्हवी न्यूज
२०८३ श्रावण १७, आईतवार ११:३० गते

अमेरिकाले पर्यटक (बी–२) र व्यावसायिक (बी–१) भिसाका लागि आवेदन दिने केही देशका नागरिकमाथि थप कडाइ गर्दै भिसा बन्ड (धरौटी) कार्यक्रमलाई स्थायी बनाएको छ। नयाँ व्यवस्थाअनुसार नेपालसहित ५० देशका नागरिकले भिसा आवेदनका क्रममा १० हजारदेखि २० हजार अमेरिकी डलरसम्म धरौटी राख्नुपर्ने भएको छ।

यसअघि परीक्षण कार्यक्रमअन्तर्गत ५ हजार, १० हजार र १५ हजार डलरसम्मको बन्ड राख्ने व्यवस्था रहेकामा अब ५ हजार डलरको विकल्प हटाइएको छ। अधिकतम धरौटी रकम बढाएर २० हजार डलर पुर्‍याइएको छ, जुन नेपाली रुपैयाँमा करिब ३० लाख ४१ हजारभन्दा बढी हुन्छ।

अमेरिकी विदेश मन्त्रालयले नेपाल, बङ्गलादेश, भुटानसहित ५० देशलाई यो व्यवस्थामा समेटेको जनाएको छ। नयाँ नियमअनुसार सम्बन्धित देशका नागरिकले भिसा अन्तर्वार्ताअघि नै बन्ड रकम जम्मा गर्नुपर्नेछ।

भिसा अस्वीकृत भए धरौटी रकम फिर्ता हुने व्यवस्था छ। भिसा स्वीकृत भएर अमेरिका पुगेपछि पनि सम्बन्धित व्यक्तिले भिसाका सबै नियम पालना गरेमा बन्ड रकम फिर्ता पाइनेछ।

अवैध आप्रवासन नियन्त्रण गर्ने उद्देश्यले ट्रम्प प्रशासनले गत वर्ष सुरु गरेको यो कार्यक्रम प्रभावकारी देखिएपछि स्थायी रूपमा लागू गरिएको अमेरिकी फेडरल रजिस्टरमा उल्लेख गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*