रौतहटमा तस्करीको अडियो प्रकरणपछि डीएसपी बिष्ट सरुवा, इन्स्पेक्टर बोहरामाथि छानबिन तीव्र

कोल्हवी न्यूज
२०८३ श्रावण १६, शनिबार १६:१६ गते

रौतहट,नेपाल–भारत सीमामा तस्करी नियन्त्रणको जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी संगठनभित्र सार्वजनिक भएको एउटा अडियोले तरंग उत्पन्न गरेको छ। बीओपी सरमुजवाका इन्स्पेक्टर गणेश बोहरा र एक कथित तस्करबीच भएको भनिएको संवादको अडियो सामाजिक सञ्जालमा भाइरल भएपछि संगठनले छानबिन प्रक्रिया तीव्र बनाएको हो।

 

 

घटनापछि इन्स्पेक्टर बोहरालाई छिन्नमस्ता बाहिनी तानेर अनुसन्धान सुरु गरिएको छ भने प्रस्तावित भन्सार गुल्म गौरका प्रमुख डीएसपी प्रेमसागर बिष्टलाई पनि सरुवा गरिएको सुरक्षा स्रोतले जनाएको छ। उनको स्थानमा सशस्त्र प्रहरी ७ नम्बर बैद्यनाथ बाहिनी, कैलालीबाट डीएसपी दुर्गा प्रसाईं भट्टलाई खटाइएको छ।

 

 

यद्यपि सार्वजनिक भएको अडियोको आधिकारिक प्रामाणिकता अहिलेसम्म पुष्टि भएको छैन। त्यसैले फरेन्सिक परीक्षणसहित निष्पक्ष अनुसन्धान गर्नुपर्ने माग स्थानीय तह र सामाजिक सञ्जालमा उठिरहेको छ।

 

 

छिन्नमस्ता बाहिनीका प्रवक्ता एसएसपी सुभाष भण्डारीको नेतृत्वमा गएको टोलीले बीओपी सरमुजवा पुगेर स्थानीय जनप्रतिनिधि, व्यापारी र सर्वसाधारणसँग इन्स्पेक्टर बोहराको कार्यशैलीबारे राय संकलन गरेको छ। केही स्थानीयले घरायसी प्रयोजनका सामानमा कडाइ गरिए पनि संगठित तस्करीलाई संरक्षण दिएको आरोप लगाएका छन्। यी आरोपहरूको स्वतन्त्र पुष्टि भने भएको छैन।

 

 

 

यसैबीच छिन्नमस्ता बाहिनीका प्रमुख डीआईजी विष्णुप्रसाद भट्टले आचरणविपरीतका गतिविधिप्रति शून्य सहनशीलताको नीति अपनाइएको बताउँदै दोषी प्रमाणित हुने जोसुकैमाथि कडा कारबाही गरिने संकेत दिएका छन्।

 

 

 

जिल्ला भन्सार कार्यालय गौरका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सशस्त्र प्रहरीले ४ करोड ५ लाख १९ हजार रुपैयाँ र नेपाल प्रहरीले ५ करोड ५५ लाख १८ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान नियन्त्रणमा लिएर भन्सार बुझाएका छन्।

 

 

 

संवेदनशील मानिने रौतहट–भारत सीमामा बारम्बार यस्ता घटना सार्वजनिक भइरहँदा सीमा सुरक्षा प्रणालीको प्रभावकारिता र जवाफदेहितामाथि पुनः बहस सुरु भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*