फेसबुकमार्फत झुटा सूचना फैलाएको आरोपमा एक जना नियन्त्रणमा
सर्लाही । सामाजिक सञ्जाल फेसबुकमार्फत भ्रामक तथा झुटा सूचना प्रसारण गरेको आरोपमा सर्लाही प्रहरीले एक युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार ‘मुकेश कुमार यादव समर्थक’ नामको फेसबुक प्रोफाइलबाट सार्वजनिक शान्ति, सुरक्षा र सामाजिक सद्भावमा असर पुग्ने प्रकृतिका भिडियो तथा समाचार प्रसारण भएको सूचनापछि प्रहरीले अनुसन्धान थालेको थियो।
अनुसन्धानका क्रममा उक्त फेसबुक आईडी सर्लाहीको धनकौल गाउँपालिका–२ निवासी ३० वर्षीय राम प्रवेश राय यादवले सञ्चालन गरेको खुलेको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिनुका साथै प्रयोग गरिएको मोबाइल फोनसमेत बरामद गरिएको छ।
प्रहरीको सोधपुछमा यादवले आफ्नै फेसबुक आईडीमार्फत भ्रामक भिडियो तथा सूचना सार्वजनिक गरेको स्वीकार गरेको बताइएको छ। उनीमाथि सर्वसाधारणमा भ्रम सिर्जना गरी सार्वजनिक शान्ति–सुरक्षा र सुव्यवस्थामा असर पुर्याएको आरोपमा विद्युतीय कारोबार ऐन अन्तर्गत पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच प्रहरीले सामाजिक सञ्जाल प्रयोग गर्दा अपुष्ट, झुटा वा भ्रामक सामग्री प्रकाशन वा साझेदारी नगर्न तथा डिजिटल माध्यमको जिम्मेवार प्रयोग गर्न सबैलाई आग्रह गरेको छ।-नागरिक न्युजबाट साभार










