तीव्र गतिका कारण स्कुटर दुर्घटना, ५ वर्षीय बालकको अवस्था मध्यम

कोल्हवी न्यूज
२०८३ श्रावण १४, बिहीबार ०६:४० गते

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ स्थित भिआईपी पुल नजिक भित्री सडकमा स्कुटर आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा आमा र उनका पाँच वर्षीय छोरा घाइते भएका छन्।

मंगलबार साँझ करिब ५:५३ बजे ना.५२ प ११३३ नम्बरको स्कुटर चलाइरहेकी हेटौंडा–८ कमानेकी करिब ३० वर्षीया रिता गौतम तीव्र गतिका कारण सवारी नियन्त्रण गुमाउँदा दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा चालक गौतमको बायाँ हात र खुट्टामा सामान्य चोट लागेको छ। स्कुटरमा पछाडि सवार उनका ५ वर्षीय छोरा शिवांश खड्काको भने टाउको, दुवै हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। बालकको अवस्था मध्यम रहेकाले थप उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज रिफर गरिएको छ।

घाइते दुवै जनालाई प्रारम्भिक उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो। त्यसपछि चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि चितवन पठाइएको हो।

प्रहरी निरीक्षक बृजकिशोर शाह गोठको नेतृत्वमा खटिएको टोलीले दुर्घटनाबारे अनुसन्धान गरिरहेको छ। दुर्घटनामा क्षति पुगेको स्कुटर वडा प्रहरी कार्यालय सानोपोखराको नियन्त्रणमा राखिएको छ।

प्रारम्भिक अनुसन्धानमा चालकसँग सवारी चलाउन आवश्यक कागजात रहेको र मदिरा सेवन नगरेको खुलेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*