गढीमाई मन्दिरमा गहना चोरी, स्थानीयद्वारा निष्पक्ष छानबिन र सीसीटीभी फुटेज सार्वजनिक गर्न माग

कोल्हवी न्यूज
२०८३ श्रावण १३, बुधबार १४:५० गते

बारा । बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित प्रसिद्ध गढीमाई मन्दिरमा ताला तोडेर चार थान बहुमूल्य गहना चोरी भएपछि स्थानीयवासीले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

साउन १० गते आइतबार राति भएको चोरीको घटनाबारे चार दिनपछि बुधबार स्थानीयवासीले मन्दिर परिसरमै पत्रकार सम्मेलन गर्दै दोषीलाई तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरेका हुन्। उनीहरूले मन्दिरमा जडान गरिएका सीसीटीभी क्यामराको फुटेजसमेत सार्वजनिक गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

मन्दिरका मूल पुजारी शिव चौधरीका अनुसार चाँदीको मुकुट, सुनको जलप लगाइएको चाँदीको हार, सुनको तिलहरी र सुनको हार गरी चार थान गहना चोरी भएका छन्।

पत्रकार सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टी बाराका निवर्तमान सभापति चन्दन कुमार स्वर्णकारले धार्मिक आस्थाको प्रमुख केन्द्रका रूपमा रहेको गढीमाई मन्दिरमा भएको चोरीको घटनाले सर्वसाधारणमा गम्भीर चिन्ता बढाएको बताए। उनले घटनाको सत्यतथ्य तत्काल सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरे।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले भने सीसीटीभी फुटेजका आधारमा घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन्। घटनामा संलग्न व्यक्तिको हालसम्म पहिचान हुन नसकेको भन्दै प्रहरीले उनीहरूको खोजी तथा अनुसन्धानलाई तीव्रता दिएको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*