हेडलाइन: भारतीय सहयोगको एम्बुलेन्स निजी प्रयोगमा, पूर्व वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

कोल्हवी न्यूज
२०८३ श्रावण १२, मंगलवार १८:१० गते

जनकपुर । धनुषाको विदेह नगरपालिका–५ का तत्कालीन वडाध्यक्ष विजयकुमार यादवविरुद्ध भारतीय सरकारको सहयोगमा प्राप्त एम्बुलेन्स दुरुपयोग गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार भारतीय राजदूतावासले २०७७ असोज १४ गते वडाबासीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले उपलब्ध गराएको एम्बुलेन्स यादवले सरकारी अभिलेखमा दर्ता नगरी आफ्नै नियन्त्रणमा राखेर सञ्चालन गरेका थिए।

आयोगको अनुसन्धानले एम्बुलेन्स ३ वर्ष ५ महिनासम्म करिब ३० हजार १८५ किलोमिटर गुडाइएको देखाएको छ। तर, यस अवधिमा सञ्चालन लगबुक, इन्धन खर्च वा आम्दानीको कुनै आधिकारिक अभिलेख नराखिएको र एम्बुलेन्सबाट मनपरी भाडा उठाइएको आरोप लगाइएको छ।

नेपाल रेडक्रस सोसाइटी धनुषाको भाडादरका आधारमा सार्वजनिक सम्पत्तिमा १५ लाख ९ हजार २५० रुपैयाँ बराबरको हानी–नोक्सानी पुगेको अख्तियारको निष्कर्ष छ। अनुसन्धानका क्रममा यादवले ३ लाख ८१ हजार ५९७ रुपैयाँ बुझाए पनि बाँकी ११ लाख २७ हजार ६५३ रुपैयाँ असुल गर्नुपर्ने देखिएको आयोगले जनाएको छ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत बिगो बराबर जरिवाना, कैद सजाय तथा बाँकी रकम असुलउपरको माग गर्दै पूर्व वडाध्यक्ष यादवविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*