सर्लाहीको लालबन्दी–२ की २९ वर्षीया कविताकुमारी ढुङ्गाना झापामा मृत फेला
झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। मृतक सर्लाहीको लालबन्दी–२ की २९ वर्षीया कविताकुमारी ढुङ्गाना रहेको प्रहरीले जनाएको छ।
कविता आफ्ना श्रीमान् रतन गुप्तासँग विद्यालय परिसरमै रहेको आवासीय कोठामा बस्दै आएकी थिइन्। दुवै जना गत वैशाखदेखि विद्यालयमा अध्यापन गर्दै आएका थिए।
विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइँटेलका अनुसार विद्यालय बिदापछि सोमबार खुले पनि कविता र उनका श्रीमान् सम्पर्कमा नआएपछि खोजी सुरु गरिएको थियो। उनीहरू बस्ने कोठामा बाहिरबाट ताला लगाइएको र पटक–पटक फोन सम्पर्क गर्दा समेत सम्पर्क हुन नसकेपछि घटना शंकास्पद बनेको उनले बताए।
सोमबार साँझ करिब ४ः३० बजे रतन गुप्ताले प्रधानाध्यापकलाई वाट्सएपमार्फत सन्देश पठाउँदै श्रीमतीलाई कोठाभित्र झुन्डिएको अवस्थामा फेला पारेको, शव अर्को कोठामा सारेको र डरका कारण आफू त्यहाँबाट हिँडेको बताएका थिए। उनले कोठाको ताला खोलेर कानुनी प्रक्रिया अघि बढाउनसमेत आग्रह गरेका थिए।
स्थानीयवासीका अनुसार गुप्तालाई आइतबार साँझ दुईवटा झोला बोकेर विद्यालयबाट बाहिरिँदै गरेको देखिएको थियो। त्यसपछि उनी सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताए। मृतकको शव पोस्टमार्टमका लागि पठाइएको छ भने मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। साथै, सम्पर्कविहीन रहेका गुप्ताको खोजी कार्यसमेत तीव्र पारिएको छ।










