एमबीएसको परीक्षा चलिरहँदा प्रश्नपत्र सामाजिक सञ्जालमा आउट, दुई जना पक्राउ
काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको परीक्षा सञ्चालन भइरहेका बेला प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको साइबर ब्युरोले प्रश्नपत्र बाहिरिएको घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको हो ।
गत साउन ८ गते परीक्षा सञ्चालन भइरहेका बेला प्रश्नपत्र सामाजिक सञ्जालमा बाहिरिएपछि परीक्षाको मर्यादा र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको थियो । घटनाबारे सत्यतथ्य पत्ता लगाउन डीन कार्यालयअन्तर्गतको परीक्षा सञ्चालन समितिले छानबिन समिति गठन गरेको छ ।
प्रश्नपत्र कसरी बाहिरियो र त्यसमा पक्राउ परेकाहरूको भूमिका के थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










