लहानमा लागूऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, ६ जना नियन्त्रणमा
२०८३ श्रावण ७, बिहीबार १८:०५ गते
सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको विशेष टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ ।
लहान नगरपालिका–३ स्थित हस्पिटल चोकमा लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रतिरोध भएपछि बिहीबार प्रहरीले गोली चलाएको हो । गोली लागेर एक नेपाली र एक भारतीय नागरिक घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ ।
काठमाडौंको कोटेश्वरस्थित लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको विशेष टोलीले लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाउनुपरेको जनाएको छ ।
घाइतेसहित नियन्त्रणमा लिइएका व्यक्तिहरूको पहिचान तथा घटनाको विस्तृत विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।










