काभा भलिबलमा नेपाल लगातार दोस्रो खेलमा पराजित

कोल्हवी न्यूज
२०८३ श्रावण ७, बिहीबार १७:५१ गते

इस्लामावाद । पाकिस्तानमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिप–२०२६ मा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । बिहीबार भएको खेलमा नेपाल श्रीलङ्कासँग ३–२ को सेटमा पराजित भएको हो ।

प्रतिस्पर्धात्मक खेलमा श्रीलङ्काले पहिलो सेट २५–१८ ले जित्दै अग्रता बनाएको थियो । त्यसपछि नेपालले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्‍यो ।

चौथो सेटमा श्रीलङ्काले २५–२१ को जित निकाल्दै खेललाई निर्णायक पाँचौँ सेटमा पुर्‍यायो । पाँचौँ तथा निर्णायक सेटमा श्रीलङ्का १५–१० ले विजयी हुँदै खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

यसअघि पहिलो खेलमा पनि नेपाल कजाकस्तानसँग ३–२ को सेटमा पराजित भएको थियो । उक्त खेलमा नेपालले सुरुवाती दुई सेट गुमाएपछि तेस्रो र चौथो सेट जित्दै उत्कृष्ट पुनरागमन गरेको थियो । तर निर्णायक पाँचौँ सेटमा कजाकस्तान १५–९ ले विजयी भएको थियो ।

प्रतियोगितामा नेपालले अब शुक्रबार आयोजक पाकिस्तानसँग खेल्नेछ । त्यसपछि आइतबार बङ्गलादेश र सोमबार उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

श्रीलङ्काले भने प्रतियोगितामा पहिलो जित निकालेको हो । यसअघि श्रीलङ्का आयोजक पाकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*