काभा पुरुष भलिबलमा नेपालले आज श्रीलङ्कासँग खेल्दै
२०८३ श्रावण ७, बिहीबार ०७:१८ गते
पाकिस्तानमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज श्रीलङ्कासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र श्रीलङ्काबीचको खेल नेपाली समयअनुसार बिहान साढे १० बजे सुरु हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा नेपाल काजकस्तानसँग पराजित भएको थियो । श्रीलङ्का पनि आफ्नो पहिलो खेलमा आयोजक पाकिस्तानसँग पराजित भएकाले आज दुवै टोली प्रतियोगितामा पहिलो जितको खोजीमा मैदानमा उत्रनेछन् ।
साउन १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक पाकिस्तानसहित नेपाल, काजकस्तान, उज्वेकिस्तान, बङ्गलादेश र श्रीलङ्का सहभागी छन् । राउन्ड रोबिन लिग प्रणालीमा हुने प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने टोली सेमिफाइनलमा पुग्नेछन् ।
नेपाली टोलीको कप्तानी हरिहजुर थापाले गरेका छन् भने जगदीश भट्ट मुख्य प्रशिक्षक छन् ।










